बाढीपीडितका लागि नर्भिकको महोत्तरीमा निःशुल्क स्वास्थ्यशिविर
थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले तराईका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । नर्भिकले डा. वरुण शाहको नेतृत्वमा महोत्तरीको ममरा–सिस्वा नगरपालिकामा आइतबार स्वास्थ्यशिविर सञ्चालनमा ल्याएको हो । शिविरमार्फत सयौँ बाढीपीडितले स्वास्थ्यसेवा लिएको अस्पतालले जनाएको छ ।
अविरल वर्षत सुरु भएसँगै दुई सातादेखि बाढीले डुबानमा परेको तराई क्षेत्रका बासिन्दाको घरवास उजाडिएका वेला उनीहरूमा विभिन्न संक्रामक रोगहरूको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गराएको हो । बाढी तथा डुबानप्रभावित क्षेत्रका स्थानीयमा जन्डिसलगायत पानीजन्य रोग संक्रमणको खतरा उच्च हुन्छ । अस्पतालका अनुसार शिविरमा सयौँ बिरामीले उत्साहपूर्वक विशेषज्ञ चिकित्सकको सेवा लिएका छन् ।
यस वर्ष वर्षा सुरु भएलगत्तै बाढीपहिरो तथा डुबानका कारण देशभरमा गरी मृत्यु हुने र बेपत्ता भएका सहित सयजनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने कतिपय घाइतेको अझै पनि उपचार भइरहेको छ । सम्भवतः यसपटक कुनै पनि अस्पतालका तर्फबाट बाढीपीडितका लागि निःशुल्क स्वास्थ्यशिविर चलाउने नर्भिक अस्पताल पहिलो हो । अस्पतालले यसअघि पनि प्रकोपका समयमा प्रभावित क्षेत्रमै पुगेर निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ । प्रकोपप्रभावितहरूलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने अस्पतालले जनाएको छ ।